रामपुर । देवदह ब्वाईज, रुपन्देही यहाँ जारी दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले त्रिशक्ति युवा क्लब, काठमाडौंलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको खेलमा देवदहका लागि कप्तान सुरज चौधरी र मनिष पुनले गोल गरे । पराजित त्रिशक्तिका लागि भने निमन लिम्बुले गोल गरेका थिए ।
खेलमा देवदहका सुरज चौधरी प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत कार्तिक ६ गते मंगलबारको क्वाटरफाइनल खेल साविक विजेता न्यु युथ युनियन क्लब, तानसेन पाल्पा र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।
ज्योतिपुञ्ज युथ क्लब, रामपुर–७, किसानबारी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार ३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने कार्तिक १० गतेका दिन हुने समेत अध्यक्ष गौतमले बताए ।