
काठमाडौं । नेपालको घरेलु फुटबलमा अहिले विश्वास श्रेष्ठको नाम फुटबल समर्थकहरु माझ नौलो नामका रुपमा रहेन । स्याङ्जाको वालिङमा जन्मिएर मनाङ, संकटा, थ्रीस्टार, झापा–११ जस्ता चर्चित क्लबहरुबाट व्यवसायीक फुटबल खेलिसकेका उनै विश्वास अहिले परिवारिक पिडामा छन् ।
एन्फा एकेडेमी कै उत्पादन समेत रहेका विश्वासले राष्ट्रिय टोलीबाट आधिकारिक रुपमा डेब्यु गर्न बाँकी रहे तापनि नेपालको उमेर समूहको टोलीहरुमा पनि आफूलाई अब्बल साबित गरिसकेका छन् । पाँच बर्षअघि नेपालले घरमै साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीका अहम सदस्य थिए ।
हाल हिमालयन शेर्पा क्लबमा आवद्ध विश्वास चोटका कारण मैदान बाहिर छन् । गत बर्ष लिग खेल्ने क्रममा चोटिल भएका उनी ११ महिना यता मैदान बाहिर रहेका छन् । विश्वाससँग फुटबल नखेलेको पिडा त छँदैछ, त्यसमै अहिले उनीमाथि परिवारिक पिडा पनि थपिएको छ ।
आगलागीमा घरसँगै जलेको मन
कमाई खाने फुटबल खेल नभईरहेको अवस्थामा विश्वासलाई घरायसी समस्याले पिरोल्यो । गत भदौको शुरुवाततिर उनको घरमा आगलागी भयो । आगलागीमा नगद सहित करिब ८ लाखको क्षति हुन पुगेको थियो । यो घट्नाले विश्वासको परिवार पिडा मै थियो र छ ।
बुवालाई करेन्ट लाग्दा झन पिडा
पिडा मै दिन गुजारिरहेको विश्वासको परिवारलाई मंसिर पहिलो साता अर्को आपत आइपर्यो । मंसिर ४ गतेका दिन बन्दै गरेको उनको नयाँ घरमा पिता रुप नारायण श्रेष्ठले सामान मिलाउने क्रममा करेन्ट लाग्न पुग्दा करेन्टको झट्काले चार तलामाथिबाट तल खस्न पुगे ।
यो घट्नामा विश्वासका पिता गम्भिर घाइते भए । उनलाई तत्कालै हेलिकप्टरमार्फत काठमाडौं ल्याउनुपर्यो । ग्रान्डी अस्पतालमा उपचाररत विश्वासका पिता अझै पनि आइसीयुमा छन् । विश्वासको परिवारका अनुसार उनको पिताको अवस्था अहिले सुधारोन्मुख छ ।
तर पनि उनका पितालाई अझै अस्पताल मै राख्नुपर्ने बताइएको छ । हालसम्म ११ लाख भन्दा बढी खर्च भइसकेको र पिताको उपचारमा अझै बढी खर्च हुने विश्वासले बताए । पिताको उपचारमा आफूसँग भएको सबै रकम खर्च गरिसकेको र ऋण लिएर पनि उपचार गराइरहेको बताउने विश्वासले अब त्यहि एउटा घर पनि धितो राख्न पने अवस्था रहेको दुःखेसो पोखे ।
साथीभाई र शुभेच्छुकबाट केही सहयोग
त्यस्तै विश्वासको पिताको उपचारमा अहिलेसम्म स्याङ्जा जिल्ला फुटबल संघ, स्थानीय र चिनेका साथीभाईबाट सहयोग प्राप्त भएको विश्वासले बताएका छन् । उता विश्वास सँगै फुटबल खेलेका वालिङ कै संकटा क्लबका चर्चित मिडफिल्डर लक्ष्मण रुचालले विश्वासलाई सहयोगका लागि आफूहरुले पहल शुरु गरिसकेको बताए ।
साथै रुचालका अनुसार विश्वासको पिताको उपचार खर्च जुटाउन आफूहरुले सक्दो पहल र सहयोग गर्ने बताए । रुचाल भन्छन्, "सानैदेखि खेलेको साथी भाई जस्तै हुन विश्वास । परेको बेला उनलाई हामी जस्तै खेलाडीहरुले सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।"
विश्वासको टुटेको छैन आत्मविश्वास
एकै बर्ष आफूमाथि परेको यो विपतले विश्वासलाई विक्षिप्त बनाए तापनि उनले आफ्नो आत्मविश्वास भने नगुमाएको बताउँछन् । परिस्थति जस्तो भए पनि पिताको उपचारमा कुनै कसर बाँकी नराख्ने विश्वासले बताए । बुवा छिटै निको हुने विश्वासलाई आशा पनि छ ।
समयले विश्वास र उनको परिवारको मन तोडे पनि फेरि सामान्य दैनिकी र फुटबलसँगै परिवारमा फर्किने विश्वासको मन भने नटुटेको उनी बताउँछन् ।
(विश्वासलाई आवश्यक सहयोग गर्न इच्छुक महानुभावहरुले ९८२३५३१९०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।)