News चन्द्रागिरी र काठमाडौं उपाधिका लागि भिड्ने
गोलनेपाल

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका भिड्ने छन् ।

चन्द्रागिरले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । च्यासल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई १–० ले हरायो । चन्द्रागिरीले खेलको ५५औँ मिनेटमा महालक्ष्मीका निशान रावलको आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको म्यान अफ द म्याच चन्द्रागिरीका सिल्भा कन्दाग्वा घोषित भए । उनलाई गोदावरी नगरपालिकाको तर्फबाट ५ हजार नगद र ट्रफी महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी मर्हजनले हस्तान्तरण गरिन् ।

त्यस्तै सो खेलमा उदीयमान खेलाडीको पुरस्कार महालक्ष्मीका निशान बस्नेतले पाए । उनलाई महालक्ष्मीकी उपमेयर मर्हजन र गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको वेलकम पार्टी प्यालेसका संचालक सुबास पुडासैनीले संयुक्त रुपमा पुरस्कृत गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई समान १–० को अन्तरले नै हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । महानगरका लागि५३औं मिनटमा मनिष सेढाईले गरेको एक मात्र गोल निर्णायक भयो ।

खेलमा म्यान अफ द म्याच काठमाडौंका अनिल खड्का घोषित भए । उनलाई मध्यपुर थिमिका प्रवक्ता कृष्णहरि आचार्यले ट्रफी र ५ हजार नगदको चेक हस्तान्तरण गरे । खेलमा मध्यपुरका अमर श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । उनलाई प्रतियोगिता संयोजक निरोज बज्राचार्यले पुरस्कृत गरे ।

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासलमा खेलाईएको थियो ।

शनिबार हुने फाइनल खेल भने झ्यालुन्टार मैदानमै खेलाइने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments