News हामी दाजुभाई र गोल्डस्टार क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

काठमाडौं । हामी दाजुभाई फुटबल क्लब र गोल्डस्टार युथ क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नैकाप खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ हामी दाजुभाईले गणेशमान स्मृति एफसीलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

निर्धारित समयको रोमाञ्चक खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा ५–४ को जितका साथ हामी दाजुभाईले जित हात पार्न सफल भयो । खेलमा हामी दाजुभाईका गोलरक्षक आशिष थापा मगर म्यान अफ द म्याच चुनिए ।

त्यस्तै सोही मैदानमा भएको दिनको दोस्रो तथा अन्तिम प्रिक्वाटरफाइनलमा गोल्डस्टारले बी.बी. गोर्खाज एफसीलाई ४–० ले हरायो । गोल्डस्टारका लागि म्यान अफ द म्याच समेत घोषित मिसन लामाले दुई गोल गरे भने प्रदिप गुरुङ र पाल्साङ लामाले एक–एक गोल गरे ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments