News जलथल एफसीको विजयी शुरुवात
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेलमैदानमा सुरु जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा हल्दिबारीको जलथल एफसीले विजयी सुरुवात गरेको हो ।

लक्ष्मीधाप स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा स्पर्धी चन्द्रगढीको ब्रदर्स युनाइटेडलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै जलथलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको ७औँ मिनेटमै विशाल गुरुङले गोल गर्दै खाता खोलेका थिए । जलथलकै उज्ज्वल राईले खेलको २२औँ मिनेटमा गोल गरेर टिमको अग्रता दोब्बर बनाए । खेलको ४२औँ मिनेटमा राजेश राजवंशीले थप गोल गर्दै फराकिलो गोलअन्तर निकाले ।

उद्घाटन खेलको म्यान अफ दी म्याच जलथलका विशाल गुरुङ बने । उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे ।

आयोजक क्लबका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष सन्तकुमार राईले स्वागत गरेका थिए । भोलि (आइतबार) आयोजक लक्ष्मीधाप स्पोर्टस् क्लबले शनिश्चरे एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहिछ ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आर्थिक संयोजक टेकराज तिलिङले बताए । यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजार पाउने छन् ।
 
Post Comments