
बराहक्षेत्र । साँघुरो जितका साथ पूर्वाञ्चल एपिएफ, पकली यहाँ जारी छैठौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रकाश माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ एपिएफले तालतलैया फुटबल क्लब, इटहरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
एपिएफको जितमा हरि कार्कीले गरेको एक मात्र गोल टोलीलाई जिताउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता हरि कार्की नै खेलको म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तरगत असोज २३ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल रामधुनी आदर्श क्लब, रामधुनी, सुनसरी र मितेरी क्लब, इनरुवा, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
बराहक्षेत्र नगर खेलकुद समितिको प्रायोजन तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र–१०, पकाशपुर, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल भने यही असोज २७ गतेका दिन हुनेछ ।