
करमगाछी । कठिन जितका साथ साउने फुटबल क्लब यहाँ जारी प्रथम इलेभन स्टार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ साउनेले शिशुबारी फुटबल क्लबलाई सडन डेथमा हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा साउनेले ७–६ को नतिजा निकाल्दै उपाधि नजिक पुगेको हो ।
खेलमा साउनेका गोलरक्षक उद्धव मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५०० र मेडल हात पारे । साउनेले अब भदौ १४ गतेका दिन हुने फाइनलमा आयोजक इलेभन स्टार फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।
इलेभन स्टार फुटबल क्लब, करमगाछी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।