News इजरायल जाने ‘साम्बा’को विदाई
गोलनेपाल

काठमाडौं । युरोपमा व्यवसायीक फुटबल खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी स्टार फरवार्ड साबित्रा भण्डारीलाई इजरायल जानु अघि बुधबार भव्य विदाई गरिएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच साबित्रालाई विदाई गरिएको हो ।

स्मरण रहोस, साबित्रालाई गत महिना मात्र इजरायली क्लब हापोएल र’अनाना एएफसीले अनुवन्ध गरेको थियो । साबित्रा आउँदो अगस्त १ तारीखका दिन इजरायलतर्फ प्रस्थान गर्नेछिन् । त्यसैका लागि उनलाई बुधबार एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो ।

सो अवसरमा साबित्रालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंक्रज विक्रम नेम्वाङ, नेपालका लागि इजरायली राजदुत हनन् गोदर लगायतका पदाधिकारीहरुले शुभकामनासहित विदाई गरे ।

कार्यक्रममा बोल्दै साबित्राले आफूप्रति सबैले देखाएको यो सद्भाव र सहयोगले थप हौसला मिलेको बताईन् । युरोपेली भूमिमा खेल्नु आफ्नो लागि चुनौतिपुर्ण भए तापनि त्यसको सामना गर्न आफू तयार रहेकोृ प्रतिक्रिया समेत दिईन् ।

घरेलु फुटबलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबमा आवद्ध साबित्राले केही महिना अघि सम्पन्न प्रतिष्ठित भारतीय आई लिगमा गोकुलम केरलाका लागि क्लबका लागि दोस्रोपटक लिग उपाधि जित्न सफल भएकी थिईन् । लिग अवधिभर कुल २९ गोल गरेकी साबित्रा सर्वाधिक गोलकर्ता समेत बनेकी थिईन् ।

साबित्राले समग्रमा तीनपटक आई लिग उपाधि जितिसकेकी छिन् । पहिलोपटक उनले सेथु एफसीका लागि खेल्दै उपाधि जितेकी थिईन् भने त्यसपछि दुई उपाधि केरलाका लागि खेल्दै जित्न सफल भएकी थिईन् ।

Post Comments