News प्लानिङ ब्वाईज उपाधि नजिक
राजकुमार श्रेष्ठ

धनकुटा । संघर्षपुर्ण जितका साथ प्लानिङ ब्वाईज क्लब, काठमाडौं यहाँ जारी १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइन्लमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा पेमा युवा क्लब, बिराटनगरलाई टाईब्रेकरमा हराउँदै प्लानिङ ब्वाईज उपाधि नजिक पुगेको हो ।

तल्लो टुंडिखेल मैदानमा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने प्लानिङ ब्वाईजले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा प्लानिङ ब्वाईजका गोलरक्षक लोकेश चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत जेठ १ गते सोमबारको दोस्रो सेमिफाइनल खेल झापा फुटबल क्लब, झापा र बिरगंज युनाइटेड, बिरगंज बीच हुने आयोजकले जानकारी दियो ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल जेठ २ गतेका दिन हुनेछ ।

Post Comments