
कालिका । गैरीबारी फुटबल क्लब यहाँ जारी मनो गिरी स्मृति प्रथम कालिका कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कालिका नगरपालिका–३, पदमपुर स्थित स्थानीय खेलमैदानमा भएको खेलमा गैरीबारीले एपिएफ भण्डारालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । गैरीबारीको जितमा सोम गुरुङ, आशिष श्रेष्ठ र शिव गुरुङले गोल गरे । खेलमा गैरीबारीका आशिष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै अर्को क्वाटरफाइनल खेलमा आयोजक आयाम युवा समाजले कालिका–१ एफसीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा आयामका गोलरक्षक अनिष चौधरी म्यान अफ द म्याच घोषित भए ।
आयाम युवा समाज, कालिका–३, पदमपुर, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख १० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । फाइनल खेल यहि कार्तिक ६ गतेका दिन हुनेछ ।