
बुटवल । यहाँ जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा सौभाग्य युवा क्लबले पहिलो जित हात पारेको छ । बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको पहिलो खेलमा सौभाग्यले लिस्नु युवा क्लबलाई २–१ ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।
सौभाग्यको जितमा सुवाश क्षेत्री र आवेश शाहीले गोल गरे । उता लिस्नुका लागि हिमाल थापाले गोल गरेका थिए । खेलमा सौभाग्यका आवेश शाही म्यान अफ द म्याच घोषित भए ।
यो जितसँगै ४ खेलबाट ५ अंक जोडेको सौभाग्य छैठौं स्थानमा उक्लेको छ । उता पराजित लिस्नु भने समान ५ अंकका साथ पाँचौं स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा बुटवल युनाइटेडले डिएमसीलाई २–० ले हरायो । बुटवलको जितमा दुवै गोल म्यान अफ द म्याच समेत घोषित रेशम चौहान मगरले गरे ।
यो जितपछि ४ खेलबाट ७ अंक जोडेको बुटवल युनाइटेड चौथो स्थानमा छ । पराजित डिएमसी भने ४ अंकका साथ आठौं स्थानमा छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । लिग विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने दोस्रो, तेस्रो र चौथो स्थानका टोलीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले जानकारी दिए ।