
तुलसीपुर । प्रथम हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि टरिगाउँ युवा क्लब, तुलसीपुरले जितेको छ । तुलसीपुर दाङ स्थित अरनिको खेलमैदान सम्पन्न फाइनलमा सक्सेस फुटबल क्लबलाई ५–४ ले हराउँदै टरिगाउँ च्याम्पियन बनेको हो ।
विजेता बनेको टरिगाउँले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता सक्सेसले ६० हजारमा चित्त बुझाउन बाध्य भयो । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युएनबिसीका एन्जस रोका घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि युएनबिसी कै सन्दिप ओली चुनिए भने उत्कृष्ट गोलरक्षक टरिगाउँका शंकर रेउले बने ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार सक्सेसका आशिष जिसीले हात पारे भने उत्कृष्ट डिफेन्डर युएनबिसीका सबिन ओली चुनिए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर पनि विजेता टरिगाउँ कै माधव भण्डारी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैलाई जनही ५–५ हजारका दरले पुरस्कृत गरिएको थियो ।
विजयी खेलाडीहरुलाई हिरा डाँगी फाउण्डेशनका अध्यक्ष प्रकाश डागी बम, शारदा नगरपालिका सल्यानका नगर प्रमुख सुरेश अधिकारी तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
हिरा डाँगी फाउण्डेशन तुलसीपुर दाङको आयोजनामा कार्तिक १० गतेदेखि शुरु प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए ।