
काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान तथा फरवार्ड सुनिल क्षेत्रीले नेपालमा आएर फुटबल खेल्दा सधै खुशी र आनन्दको अनुभुति हुने बताएका छन् ।
नेपाल विरुद्ध दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्न सोमबार काठमाडौं ओर्लिएको २५ सदस्यीय भारतीय फुटबल टोलीको कप्तानी नेपाली मुलका क्षेत्रीले गरेका छन् । क्षेत्रीले विमानस्थलमा कुराकानीका क्रममा नेपाल कठिन प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।
सुनिल भन्छन्, “नेपाल कठिन प्रतिद्वन्द्वी हो । र हाम्रा लागि सधै कठिन प्रतिद्वन्द्वी कै रुपमा रहेको छ । नेपाली टोली अहिले पहिला भन्दा निकै फरक (राम्रो) छ । साथै उनीहरु आफ्नै घरेलु मैदानमा खेल्दैछन् । त्यसैले पनि नेपाल हाम्रा लागि थप कठिन प्रतिद्वन्द्वी भइदिएको छ । नेपालमा खेल्न पाउँदा सधै खुशी लाग्छ ।”
क्षेत्रीले कुराकानी कै क्रममा हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीले असहज परिस्थति श्रृजना गरे तापनि नेपाल विरुद्धको खेल आफ्नो टोलीका लागि राम्रो तयारी हुने बताए । स्मरण रहोस, नेपालसँगै भारत पनि आगामी अक्टुबर पहिलो सातादेखि हुने साफ च्याम्पियनसिपको तयारीमा छन् ।
साथै सञ्चारमाध्यमहरुसँग कप्तान क्षेत्रीले आफ्नो टोलीलाई फुटबल म्याचका लागि आमन्त्रण गरेकोमा नेपाल सरकार, एन्फा लगायत सम्बन्धित सबैलाई धन्यवाद समेत दिए । भारतीय टोलीलाई दिइएको स्वागत सत्कारबारे प्रशंसा गर्दै कप्तान क्षेत्रीले सबैप्रति आभार समेत प्रकट गरे ।