
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगको च्याम्पियन बन्दै ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले उपाधिसहित नगद १५ लाख हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम (आरसिटी) माथि १–० को साँघुरो जित निकाल्यो र लिगमा सुखद समापन गर्यो ।
खेलको ६७औं मिनटमा मल्दिना आङथुपोले गरेको एक मात्र गोल टोलीका लागि निर्णायक बन्यो । लिगभरि केवल १ मात्र हार बेहोरेको सातदोबाटोले समग्रमा ११ खेलबाट २८ अंक जोड्दै शिर्ष स्थानमा रह्यो ।
त्यस्तै दोस्रो स्थानको खुमलटारको युथ क्लबको २५ अंक रह्यो । खुमलटरले लिग दोस्रो स्थानमा रहेर समापन गरे वापत १० लाख हात पार्यो । २१ अंकका साथ तेस्रो स्थानमा रहेको बाँसबारीले ८ लाख प्राप्त गर्यो भने १७ अंकका साथ चौथो स्थानमा रहेको ब्वायज युनियनले ५ लाखमा चित्त बुझायो ।
त्यस्तै व्यक्तिगत विधातर्फ खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलरक्षक बने भने बाँसबारी क्लबका शिव गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए । त्यसैगरी सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर बन्दा उत्कृष्ट फरवार्ड खुमलटारका सबिन केसी चुनिए ।
सातदोबाटो कै सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बन्ने सबैले जनही २५–२५ हजार हात पारे ।
त्यसैगरी ५ अंकका साथ पुछारमा रहेको पुल्चोक स्पोर्टस क्लब रेलिगेशनमा पर्दै सी डिभिजनमा खस्किन बाध्य भयो । पुल्चोकले खेलेको कुल ११ खेलमा एक खेलमा मात्र जित हात पार्न सकेको थियो ।
(तस्विरः एन्फा)