
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ मध्यपुर युथ एसोसिएशनले लिगमा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा मंगलबार श्री कुमारी क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा मध्यपुरले उत्कृष्ट पूनःरागमन गर्यो । खेलको ४०औं मिनटमा आशिष राईको गोलबाट श्री कुमारीले खेलमा अग्रता बनाएको थियो । तर त्यसको पाँच मिनट लगतै कैलाश लामिछाने क्षेत्रीले मध्यपुरका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।
त्यस्तै दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै मध्यपुरका लागि कप्तान धिरज श्रेष्ठले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाउन सफल भएका थिए ।
यो जितसँगै ८ खेलबाट ७ अंक जोड्न सफल मध्यपुर लिगतालिकाको नवौं स्थानमा उक्लिएको छ । उता पराजित श्री कुमारी भने समान ७ अंक भए तापनि हेड टु हेडका आधारमा मध्यपुरलाई पछि पार्दै आठौं स्थानमा छ ।
बाँसबारीका लागि निशान हिरो
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा बाँसबारी क्लबले पुल्चोक स्पोर्टस क्लबमाथि २–० को जित निकाल्यो । बाँसबारीको जितमा दुवै गोल निशान सुनारको नाममा रह्यो । सुनारले खेलको ४८ र ६९औं मिनटमा गरि दुई गोल गरे ।
यो जितपछि बाँसबारी ८ खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा छ र लिगलिडर सातदोबाटो युथ क्लब भन्दा ४ अंकले पछाडी छ । दोस्रो स्थानमा १९ अंक जोडेको खुमलटार छ । उता पराजित पुल्चोक भने २ अंकका साथ पुछारमा छ ।