News चौँथो बौद्ध कपः वेस्ट म्याग्दीको १० गोलको शानदार जीत, मुनसनलाई सफलता
गोलनेपाल

म्याग्दी । चौथो बौद्ध कप–२०८३ अन्तर्गत तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन्। म्याग्दीको खुल्ला मञ्चमा जारी प्रतियोगितामा वेस्ट म्याग्दी दरवाङ, द मुनसन एफसी, बरबुटा एफसी, मितेरी एफसी र मितेरी एफसी दुखुबेसीले जीत हासिल गरेका छन्।

दिनको पहिलो खेलमा मितेरी एफसी दुखुबेसी म्याग्दीले नव उत्साही एफसी पर्वतलाई २–० गोलले पराजित गर्‍यो। मितेरीका लागि कप्तान सन्देश जुग्जाली र मिजास श्रेष्ठले गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका सन्देश जुग्जाली प्लेयर अफ द म्याच घोषित भए।

दोस्रो खेलमा वेस्ट म्याग्दी दरवाङले सुर्केमेला एफसी म्याग्दीलाई १०–० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। वेस्ट म्याग्दीका कप्तान बिपुल कार्कीले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै तिजिन्द्र घर्ती र बुद्धि पुर्जाले समान दुई तथा त्रिलोक बुढा र भुवन छन्त्यालले एक–एक गोल गरे। चार गोल गरेका बिपुल कार्की प्लेयर अफ द म्याच घोषित भए।

तेस्रो खेलमा द मुनसुन एफसीले सेभेन स्टार एफसीलाई ७–० गोलले हरायो। मुनसुनका लागि कप्तान अञ्जन बानियाँ र मिलन घिमिरेले ह्याट्रिक पूरा गरे भने दीपेन राईले फ्रिकिकमार्फत एक गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका दीपेन राई प्लेयर अफ द म्याच घोषित भए।

चौथो खेलमा बरबुटा एफसी बेनीले कालीपुल युनाइटेड बेनीलाई १–० गोलले पराजित गर्‍यो। बरबुटाका लागि आकाश थपालियाले निर्णायक गोल गरे। सुमित श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए।

दिनको पाँचौँ तथा अन्तिम खेलमा मितेरी एफसी दुखुबेसीले आयोजक बौद्ध युवा क्लब बेनी एल्लोलाई १–० गोलले पराजित गर्‍यो। मितेरीका लागि मिलन नेपालीले निर्णायक गोल गरे। उत्कृष्ट गोलरक्षक प्रदर्शन गरेका मितेरीका गेजिन रोक्का प्लेयर अफ द म्याच घोषित भए।

बौद्ध युवा क्लब म्याग्दीको आयोजनामा कात्तिक १८ देखि २२ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम हुने टोलीले रु. २ लाख २२ हजार २२२, दोस्रो हुनेले रु. १ लाख ११ हजार १११ र तेस्रो हुने टोलीले रु. ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी अनुशासित टोलीले रु. २२ हजार २२२ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरले जनही रु. ७ हजार ७७७ सहित ट्रफी प्राप्त गर्नेछन्।

Post Comments