संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेका छन्।
बिहीबार सम्पन्न खेलमा जिल्ला समन्वय समिति संखुवासभाकी सहसंयोजक बविता खत्री अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
पहिलो सेमिफाइनलमा रेवाहाङ फेयर फुटबल क्लब महिला टिम, धरानलाई टाइब्रेकरमा पराजित गर्दै तेह्रथुमले फाइनलमा स्थान बनाएको हो ।
खेलको छैटौँ मिनेटमा धरानकी जर्सी नम्बर २३ की रामकुमारी विकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर, खेलको ४७औँ मिनेटमा तेह्रथुमकी जर्सी नम्बर ८ की रेन्जु राईले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याइन्। निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा तेह्रथुमले जित निकाल्दै फाइनल यात्रा तय गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी तेह्रथुमकी रेन्जु राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
त्यस्तै, दोस्रो सेमिफाइनलमा पद्मा स्पोर्ट्स क्लब, ओखलढुङ्गालाई टाइब्रेकरमा पराजित गर्दै सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा पुगेको छ।
निर्धारित खेलमा ललितपुरकी जर्सी नम्बर ९ की सजना स्याङ्ताङले ३९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। ओखलढुङ्गाकी जर्सी नम्बर १३ की सुक्रीय मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन्। निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा ललितपुर विजयी बन्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी ललितपुरकी गोलरक्षक जर्सी नम्बर २२ की अस्मिता नेपाली ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
अब उपाधिका लागि फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र सातदोबाटो युथ क्लब, ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो २ बजे हुनेछ ।
स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन्।
- मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता
- सातदोबाटो युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश
- अनिता राना मगरको ह्याट्रिकसँगै फेदापको शानदार जित
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात