News २८औँ भुजि लिग रनिङ शिल्डको दोस्रो दिनमा ८ खेल सम्पन्न
गोलनेपाल

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित अमृत घामछायाँ खेल मैदानमा सञ्चालन भइरहेको २८औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको दोस्रो दिनमा आठ खेल सम्पन्न भएका छन्। दोस्रो दिनका खेलहरूमा विभिन्न टोलीबीच प्रतिस्पर्धात्मक भिडन्त भएको छ।

प्रतियोगिताको पहिलो खेलमा प्रति-५ र बाम्ती भण्डार-२ बीच प्रतिस्पर्धा हुँदा प्रति-५ ले २–० गोल अन्तरले जित हात पार्यो। दोस्रो खेलमा खिजिदेम्बा-३ र मिलनचोक युवा क्लब आमनेसामने भएका थिए। उक्त खेलमा मिलनचोक युवा क्लबले १–० गोल अन्तरले खिजिदेम्बा-३ लाई पराजित गर्यो।

त्यस्तै, तेस्रो खेलमा एफसीबी ‘बी’ र एनटी एफसी बीच प्रतिस्पर्धा हुँदा एनटी एफसीले २–० गोल अन्तरले जित निकाल्यो।

चौथो खेलमा गत संस्करणको विजेता लिभुरा एफसी र उमाकुण्ड-६ बीच भिडन्त भएको थियो। प्रतिस्पर्धात्मक खेलमा उमाकुण्ड-६ ले १–० गोल अन्तरले हार व्यहोर्नुपर्यो।

पाँचौँ खेलमा टिम जिरी र बाम्ती भण्डार-२ बीच रोचक प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बाम्ती भण्डार-२ ले जिरीलाई १–० गोल अन्तरले पराजित गर्यो।

छैटौँ खेलमा उमाकुण्ड-६ र प्रति-५ बीच प्रतिस्पर्धा हुँदा निर्धारित समयसम्मको खेलमा उमाकुण्ड-६ ले १–० गोल अन्तरले जित हात पार्यो।

प्रतियोगिताको दोस्रो दिनको सातौँ खेलमा यलुङ एफसी ले खुबु-३ लाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भयो।

त्यस्तै, दोस्रो दिनको अन्तिम तथा आठौँ खेल सुनुवार युनाइटेड र सैपु एफसी बीच भएको थियो। निकै रोचक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा समाप्त भयो।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ४८ हजार ८२८, एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङ शिल्ड सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद रु. ७४ हजार ८२८ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षक लाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही रु. १८ हजार ८२८ प्राप्त गर्नेछन्।

कुल १५ टोलीको सहभागिता रहेको प्रतियोगिताका बाँकी लिग चरणका खेल विहिबार देखि निरन्तर सञ्चालन हुनेछ।

Post Comments