
बिराटनगर । यहाँ सम्पन्न चौथो एसइइ कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि बाल आदर्श बोर्डिङ्ग स्कुल, इटहरीले जितेको छ । फाइनलमा बाल आदर्शले दिल्ली पब्लिक स्कुललाई २–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
विजेता बनेको बाल आदर्शले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता दिल्ली पब्लिकले १५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । साई चिल्ड्रेन होम स्कुलले तेस्रो स्थान हासिल गर्र्दा डन बस्को स्कुल (निलगिरी) ले चौथो स्थान हासिल गर्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक बाल आदर्शका सुमन चौधरी चुनिए भने उत्कृष्ट डिफेन्डर सनसाईन बोर्डिङ स्कुलका अनिश खड्का बने । उत्कृष्ट मिडफिल्डर दिल्ली पब्लिकका आयुष साहनी बन्दा उत्कृष्ट फरवार्ड साई चिल्ड्रेन होम स्कुलका विशेष सरदार चुनिए । उत्कृष्ट प्रशिक्षक भने बाल आदर्शका निरज चौधरी बने ।
त्यस्तै सर्वाधिक गोलकर्ता दिल्ली पब्लिक स्कुलका अमन खवास चुनिदा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी डन बस्को स्कुलका प्रकाश कामत घोषित भए । उनले त्यसवापत एक थान माउन्टेन बाइसाइकल हात पारे ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बिराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष काजी बहादुर बस्नेत लगायतले पुरस्कृत गरेका थिए ।