ANFA खलङ्गा जाजरकोट र योङ स्टार पश्चिम रुकुममा जारी दोस्रो शीतल चौरजहारी B-67 फुटबल प्रतियोगिताको अन्तिम चारमा
गोलनेपाल

पश्चिम रुकुम। शीतल चौरजहारी नगरपालिका वडा नं २ रुकुम पश्चिम जिल्ला कर्णाली प्रदेशमा जारी दोस्रो शीतल चौरजहारी B-67 कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई क्वार्टर फाइनल खेल सम्पन्न भएका छन्। विक्रम सम्वत २०६७ सालमा शीतल चौरजहारी रुकुममा रहेको शीतल माध्यमिक विद्यालयबाट एकसाथ रूपमा एसएलसी दिएका विद्यार्थीहरूले पुनः एकजुट हुँदै आयोजना गरेको यस प्रतियोगिताको नामाकरण नै शीतल चौरजहारी B-67 कप राखिएको हो।

शुक्रबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा थन्डर स्ट्राइक रुकुमलाई ५-० गोलको फराकिलो नतिजामा पराजित गरी गत संस्करणको विजेता खलङ्गा फुटबल क्लब जाजरकोटले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खलङ्गाको फराकिलो जितमा कप्तान सनम केसीले ह्याट्रिक सहित व्यक्तिगत रूपमा चार गोल गरेका थिए। केसीले खेलको ३८,४०,५२ र ७७ औं मिनेटमा गोल गरेका हुन्। त्यसैगरी अनुज खड्काले आफ्नो नाममा एक गोल गर्न सफल भए। चार गोल गरेका सनम केसी उक्त खेलको प्लेयर अफ द म्याच बन्न सफल भएका छन्।

दोस्रो क्वार्टरफाइनलमा सिम्ता फुटबल क्लब सुर्खेतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै योङस्टार फुटबल क्लब रुकुम पश्चिमले पनि प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। उपाधी दाबेदार मानिएको सिम्ता फुटबल क्लबलाई योङस्टार रुकुमले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्ने क्रममा योङस्टारका गोलरक्षक मोतिराम सुनार प्लेयर अफ द म्याच बन्न सफल भए। उनले सिम्ताका रमित रानाको पेनाल्टी प्रहारलाई रोक्न सफल बन्दा कप्तान कृष्ण बिसीले बाहिर प्रहार गरे।

शनिबार प्रतियोगिताका अन्तिम दुई क्वार्टर फाइनल खेलहरू सञ्चालन हुनेछन्। बिहानको ठीक १० बजे टाटागाउँ फुटबल क्लब रुकुम र सचेत युवा क्लब घारीगाउँ रुकुम बीच प्रतिस्पर्धा हुँदा दिनको ठिक २ बजे चौरजहारी वारियर र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन्।

कुल १० टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले नगद रु.२ लाख ३० हजार १६७ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले नगद रु.१ लाख ३० हजार १६७ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको समापन भने कार्तिक १६ गते हुनेछ।

Post Comments