भाउन्ने युथ क्लब उपाधि नजिक
रमेश समदर्शी

जलथल (झापा) । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै मोरङको भाउन्ने युथ क्लब यहाँ जारी दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप २०८२ को उपाधि नजिक पुगेको छ ।

स्थानीय शान्ति सामुदायिक वनको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा स्पर्धी झापाको बुट्टाबारी युनायटेड एफसीलाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै भाउन्ने उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफमै १-० गोलले बुट्टाबारीसँग पछि परेको अवस्थालाई उल्टाउँदै भाउन्नेले बराबरी गोल गरेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलबाट पछि परे पनि दोस्रो हाफमा सम्झनलायक गोल गर्दै भाउन्ने खेलमा फर्किएको थियो । टिमका लागि उमेश राईले गोल गरेका हुन् ।

टाइब्रेकरमा निश्चल लामा, समिर चौधरी, विवेक राई, सागर रसाइलीको प्रहारमात्र गोलमा परिणत हुँदा आकाश राईको प्रहार भाउन्नेका गोलरक्षक कुमार तामाङले रोकेका थिए ।

यसैगरी, भाउन्नेका लागि उमेश राई, निरज परियार, विशाल तामाङ, आयुश राई र गोलरक्षक कुमार तामाङको प्रहार गोलमा परिणतहुँदा उपाधि नजिक पुगेको हो । भाउन्नेका उमेश राई प्लेयर अफ दी म्याच बन्दै नगद २ हजार पाउन सफल भए ।

जलथल फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि बिहीबार न्यू स्टार क्लब बिर्तामोड र बगान युथ क्लब कचनकवलबीच अन्तिम सेमिफाइलन खेल हुनेछ ।

Post Comments