ANFA मकवानपुर महिला गोल्डकपको तयारी पूरा, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए ।

आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सातौं संस्करणबाट प्रतियोगिताको ढाँचामा परिवर्तन गरि पुरुष मात्र नभई महिलाको फुटबल खेल सिपको प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागेको अध्यक्ष लामाले बताए ।

बैशाख १९ गते बाट हेटौंडा–६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबको सहभागिता रहने छ । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने संघका महासचिव छवि सुवेदीले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।‌

 

Post Comments