ANFA मयंक नायक बन्दा योङ ब्वाईज सेमिफाइनलमा
सुरज राना मगर

देवीनगर । योङ ब्वाईज फुटबल क्लब, देवदह यहाँ जारी तेस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ योङ ब्वाईजले कपिलवस्तु–११ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

गैडहवा–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको खेलमा योङ ब्वाईजका लागि दुवै गोल मयंक मगरले गरे । टोलीको जितमा नायक बनेका योङ ब्वाईजका मयंक खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत बैशाख १५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र राईजिङ स्टार एफसी, नवलपरासीबीच हुने आयोजकले जानकारी दियो ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवा, रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका, विष्णुपुरा, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही बैशाख २० गतेका दिन हुनेछ ।

Post Comments