
ढुङ्गेसाँगु । यहाँ सम्पन्न दोस्रो लालिमा रनिङ कप नकआउट फुटबल प्रतियोगिताको उपाधि म्याङलुङले जितेको छ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं.२ ढुङ्गेसाँगुमा अवस्थित ठोट्ने शिङ्घराज मनरानि आधारभुत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनलमा म्याङलुङले कुम्मायकलाई ३–२ ले हराउँदै उपाधि जितेको हो ।
म्याङलुङको जितमा मिक्सन दासले ह्याट्रिक गरे । पराजित कुम्मायकका लागि दुवै गोल लोकेन्द्र थापाले गरेका थिए । फाइनल खेलमा ह्याट्रिक गरेका म्याङलुङका मिक्सन दास म्यान अफ दि म्याच समेत घोषित भए ।
विजेता बनेको म्याङ्लुङले नगद रू. एक लाख ६५ हजार रुपैयाँ सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने, उपविजेता कुम्मायक पाँचथरले नगद रु. नब्बे हजार रुपैयाँमा चित्त बुझाएको छ ।
व्यक्तिगत विधातर्फ पनि म्याङलुङले वर्चस्व कायम गर्न सफल भएको छ । उत्कृष्ट गोलरक्षक प्रेम लिम्बु, प्लेयर अफ दि टुर्नामेन्ट किस्न राई बन्न सफल हुँदा सर्वाधिक गोलकर्ता भने पाँचथरका सुशिल लावती बनेका हुन् । व्यतिगत विधाका उत्कृष्ट खेलाडीहरुले समान पाँच,पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
लालिमा क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ताप्लेजुङ, संखुवासभा, पाँचथर,तेह्रथुम र सुनसरीका गरी जम्मा आठ टोलीहरुको सहभागिता रहेको थियो ।