ANFA आरसी३२ र दुई खेलाडीलाई कारवाही (पत्रसहित)
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग खेलिरहेको आरसी३२ फुटबल क्लब र क्लबका दुई खेलाडी अखिल नेपाल फुटबल संघ (एन्फा) को कारवाहीमा परेका छन् । एन्फाको विधान र नियम विपरीत कार्य गरेको भन्दै आरसी३२ र क्लबका दुई खेलाडी बबिन बहरा (बबिन बोहरा) र सुमन बहादुर मगर कारवाहीमा परेका हुन् ।

एन्फाले बबिन बोहराको नाममा पठाएको पत्रमा सी डिभिजन लिग अन्तर्गत मिति २०८१ बैशाख १० गते सामाजिक युवा क्लब विरुद्धको खेलमा आरसी३२ ले बी डिभिजनका खेलाडी बबिन बहरा (बबिन बोहरा) लाई खेलाएको प्रोटेस्ट परेको थियो ।

उक्त प्रोटेस्टमाथि छानबिन गर्दा आरसी३२ का जर्सी नम्बर १६ का बबिनले श्री भगवती क्लबबाट बी डिभिजन लिग खेलेको र बी डिभिजन लिगमा उनको नाम दर्ता समेत रहेको बताइएकोले एन्फाको अनुशासन कमिटीले आरसी३२ लाई १० हजार जरिवाना गर्नुका साथै बबिनले लिगको बाँकी खेल खेल्न नपाउने गरी प्रतिवन्ध लगाएको छ । साथै सो खेलमा आरसी३२ विरुद्ध सामाजिक युवा क्लबलाई ३–० ले विजयी घोषित समेत गरिएको छ ।

त्यस्तै सुमन बहादुर मगरको नाममा पठाइएको पत्रअनुसार मिति २०८० चैत २२ गते आरसी३२ फुटबल क्लब र खालीबारी युवा फुटबल क्लब बीच भएको खेलमा आरसी३२ का जर्सी नम्बर ४ का सुमन बहादुर मगरले बी डिभिजन लिगमा झापा एफसीका लागि खेलेको भन्दै खालीबारीले उजुरी गरेको थियो ।

सो उजुरीमाथि छानबिन गर्दा निज खेलाडी मगर पनि झापा एफसीमा दर्ता रहेको भन्ने वुष्टी भएपछि एन्फाको अनुशासन कमिटीले आरसी३२ माथि १० हजार जरिवाना र खेलाडी सुमन बहादुर मगरलाई लिगको बाँकी खेल खेल्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ ।

पूर्ण पाठसहितको पत्र पनि हेर्नुहोस्ः

 

Post Comments