News दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिमको फाइनल भेट पक्का
रमेश समदर्शी

आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो ।

जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै टिमले कम्तिमा ५५ हजार ५५५ रुपैयाँ सुरक्षित गरेका छन् । खेलको ३६ औँ मिनेटमा पूर्वेलीका रमेश गुरुङले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा कप्तान दिनेश चौधरीले गोल थप्दै खेलको स्थिति २–० मा पुर्याए ।

खेलको ४० औँ र ४७ औँ मिनेटमा पूर्वेलीका विशाल राई ए ले गोल गरे । त्यस्तै, ५६ औँ मिनेटमा बिकर्ण श्रेष्ठले एक गोल गर्दै फराकिलो जित निश्चित बनाए ।
विराट मेगाले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेन । पूर्वेलीका बिकर्ण श्रेष्ठका तीनवटा सशक्त प्रहार विराट मेगाका गोलकिप्पर देवकान्त सिंहले बचाएका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका विशाल राई ए भए । उनले नगद २५०० र ट्रफी पाए । उनलाई प्राुख अतिथि नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली र व्यवसायी एसपी प्रसाईंले पुरस्कार प्रदान गरे ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए । पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

Post Comments