तेल्लोक स्पोर्टिङ क्लबद्वारा ३८ जना ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण
गोलनेपाल

ताप्लेजुङ-तेल्लोक स्पोर्टिङ क्लबको छैटौँ स्थापना दिवसको अवसरमा तेल्लोक क्षेत्रका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको सम्मान तथा प्राथमिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत यही श्रावण २१, २२ र २३ गते तीनदिने विशेष अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा तेल्लोकभित्र रहेका ९ वटा टोलमा पुगेर घरमै रहेका ज्येष्ठ नागरिक बुबाआमाहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै प्राथमिक स्वास्थ्य परीक्षण र सम्मान गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

अभियानमार्फत ८० वर्षदेखि ९८ वर्षसम्मका ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। घरमै पुगेर स्वास्थ्य परीक्षण तथा सम्मान गरिँदा ज्येष्ठ नागरिकहरूमा समेत खुसी र उत्साह देखिएको थियो।

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्ने, उनीहरूलाई सम्मान गर्ने तथा समाजमा उहाँहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

तेल्लोक स्पोर्टिङ क्लबले स्थापना दिवसलाई केवल खेलकुद गतिविधिमा सीमित नराखी सामाजिक सेवामार्फत समुदायसँग जोडिने प्रयास गरेको छ। क्लबले खेलकुदसँगै सामाजिक तथा मानवीय क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्दै आएको स्थानीयहरूको भनाइ छ।

Post Comments