सुनसरी: कोशी प्रदेशअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पूर्वाञ्चल युनाइटेडले मधेसा एफसी, सुनसरीलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
तरहरा फुटबल क्लबको खेल मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए। खेलभर दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा मधेसा एफसीका आकाश राईको प्रहारलाई पूर्वाञ्चल युनाइटेडका गोलरक्षक रोशन कार्कीले उत्कृष्ट बचाउ गरेपछि पूर्वाञ्चल युनाइटेडले ५–३ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।
खेलभर उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक रोशन कार्की नै ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताअन्तर्गत सोमबार हुने दोस्रो क्वार्टरफाइनलमा शान्तिनगर फुटबल क्लब, सुनसरीले सतिसाले स्पोर्टिङ क्लब, मोरङको सामना गर्नेछ।