जागृति र डिवाइसी प्रथम मायादेवी कपको फाइनलमा भिड्ने
सुरज राना मगर

बसडिलवा । जागृति युवा क्लब र डिवाइसी यहाँ जारी प्रथम मायादेवी कप सिक्स ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

मायादेवी गाउँपालिका–८ बसडिलवा स्थित स्थानीय खेलमैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा जागृतिले नवयुवा क्लबलाई ३–० ले हरायो । जागृतिको जितमा रोशन थापा, सुजित चौधरी र नर थापाले गोल गरे ।

त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा डिवाइसीले आयोजक मायादेवी युवा क्लबलाई समान ३–० को अन्तरले हरायो । डिवाइसीको जितमा निराजन खत्री एक्लैले ह्याट्रिक गरे ।

अब यही असार २८ गते शनिबारका दिन हुने फाइनलमा जागृति युवा क्लब र डिवाइसी उपाधिका लागि भिड्ने खेल संयोजक गौतम शाही ठकुरीले जानकारी दिए ।

मायादेवी युवा क्लब, मायादेवी गाउँपालिका–८, बसडिलवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेृ खेल संयोजक गौतम शाही ठकुरीले जानकारी दिए ।

मायादेवी गाउँपालिकासहित मायादेवी वार्ड नम्बर ८ को कार्यालय, मायादेवी ब्रेस्ट केयर सेन्टर, रुपन्देही, होटल यात्री, भैरहवा, एक्सपर्ट ऐजुकेशन, भैरहवा, फ्युचर लाईट इङलिस स्कुल, रुपन्देही तथा किंग्स क्याफे, भैरहवाको विशेष सहयोग र प्रायोजन रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments