Province 5 बुटवल ११ लाई १८औं मनमोहन स्मृति कपको उपाधि
सुरज राना मगर

बुटवल । रोमाञ्चक जित हात पार्दै यहाँ सम्पन्न १८औं मनमोहन स्मृति कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बुटवल ११ ले जितेको छ ।

बुटवल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा सम्पन्न फाइनलमा बुटवल ११ ले बुटवल १२ माथि २–१ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । बुटवल ११ का लागि दुवै गोल दर्शन बिकले गरे भने बुटवल १२ का लागि भुवन फौजा मगरले गोल गरेका थिए ।

विजेता बनेको बुटवल ११ ले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बुटवल १२ ले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

बुटवल ११ का अनिल क्षेत्री फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक पनि बुटवल ११ कै अनुप थापा बने । सर्वाधिक गोलकर्ताको पुरस्कार बुटवल ११ कै दर्शन बिकले हात पारे ।

उदीयमान खेलाडी बुटवल १२ का सागर जिसी बन्दा बुटवल १० फेयर प्ले टिम बन्यो । प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने बुटवल ११ का मिलन आले मगर घोषित भए ।

Post Comments