बुटवल । प्रतियोगिताको बलियो प्रत्याशी मध्ये एक फर्साटिकर युवा क्लब रुपन्देहीमा जारी तेस्रो इभोलुशन कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बिहीबार भएको चौथो क्वाटरफाइनलमा फर्साटिकरले योङ ब्वाईज एफसीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा शुरुवाती अग्रता भने योङ ब्वाईजले लिएको थियो ।
खेलको २३औं मिनटमा आयुष तामाङको गोलबाट योङ ब्वाईजले खेलमा अग्रता बनाएको थियो । यद्यपि फर्साटिकरले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । गोल खाएको चार मिनट लगतै २७औं मिनटमा मनिष थापाले फर्साटिकरका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो हाफको आठौं मिनटमा आशिष रानाले दोस्रो गोल गर्दै फर्साटिकरको जित पक्का गरे ।
खेलमा फर्साटिकरका आशिष पुन मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २६ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल चाँदनी युवा क्लब, दानापुर र साविक विजेता लिस्नु युवा क्लब, कोटिहवा बीच हुने आयोजकले जानकारी दियो ।
इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।