
बुटवल । दावेदार मानिएको आयोजक चरङ्गे फुटबल क्लबलाई स्तब्ध पार्दै सयपत्री युवा क्लब जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा सयपत्रीले आयोजकलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
देवदह–१० स्थित चिसापानी खेलमैदानमा भएको खेलमा आयोजकले विपक्षी विरुद्ध निरन्तर हावी हुँदै आक्रमक बनेर गोल प्रयास गरे तापनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पेनाल्टीमा निराश बन्न पुग्यो ।
सयपत्रीले फाइनलमा भलुहीसँग खेल्ने
सयपत्रीले उपाधिका लागि फाइनलमा भलुही एफसीसँग खेल्नेछ । भलुहीले बुधबार नै भएको पहिलो सेमिफाइनलमा फ्रेण्डशिप एफसीलाई पेनाल्टी शुटआउटमा २–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलको म्यान अफ द म्याच भलुही कै युवराज पुन घोषित भए । उनलाई क्लबका शुभेच्छुक राजु बोहराले पुरस्कृत गरेका थिए । फाइनल खेल माघ २ गते शुक्रबार हुने खेल संयोजक साहिन्स रानाले जानकारी दिए ।
चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अमर सिंह रानाले बताए ।