बुटवल । रोमाञ्चक जितका साथ योङ ब्वाईज एफसी रुपन्देहीमा जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा योङ ब्वाईजले लखन ब्रदर्श क्लबमाथि टाईब्रेकरमा जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा योङ स्टार विजयी बन्यो ।
चारपाला रंगशालामा भएको निर्धारित समयको खेलतर्फ योङ ब्वाईजका लागि आवेश शाही र मनिष तामाङले गोल गरेका थिए भने लखन ब्रदर्शका लागि दर्शन बिक र अनिल क्षेत्रीले पेनाल्टीमार्फत गोल गरेका थिए । टाईब्रेकरमा भने योङ ब्वाईज ४–१ ले िवजयी बन्यो ।
खेलमा योङ ब्वाईजका सुजलमान घले म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २२ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल चाँदनी युवा क्लब र देवदह ब्वाईज बीच हुने आयोजकले जानकारी दियो ।
इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।