News तिलोत्तमा भेट्रान्सलाई उपाधि
सुरज राना मगर

सालझण्डी । शानदार जितका साथ रुपन्देहीमा सम्पन्न प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको उपाधि तिलोत्तमा भेट्रान्सले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा तिलोत्तमा भेट्रान्सले आयोजक विश्व शान्ति भेट्रान्स माथि ५–० को फराकिलो जितका साथ उपाधि उचाल्न सफल भएको हो ।

पशुपति माविको खेलमैदानमा भएको खेलमा तिलोत्तमा भेट्रान्सका लागि रेशम रानाले ह्याट्रिक गरे भने थप मनोज गुरुङ्ग र बासु गुरुङ्गले थप एक–एक गोल गरे ।

विजेता बनेको तिलोत्तमा भेट्रान्सले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता विश्व शान्ति भेट्रान्सले २५,५०० मा चित्त बुझायो । फाइनल खेलमा हयाट्रिक गरेका तिलोत्तमा भेट्रान्सका रेशम राना म्यान अफ दि म्याच चुनिए ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक तिलोत्तमा राजन श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर आयोजक विश्व शान्तिका ओम छन्त्याल चुनिए । उत्कृष्ट मिडफिल्डर आयोजक विश्व शान्ति कै योजन लामिछाने बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार तिलोत्तमा रेशम रानाले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक तिलोत्तमा कै बिजय पुन बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी तिलोत्तमा गोविन्द थापा घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्मा, उपप्रमुख बिना राना, आयोजक विश्व शान्ति युवा क्लबका अध्यक्ष खडक बहादुर जिसी, खेल संयोजक रेजिन श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments