News एपिएफ फुटबल क्लब काठमाडौंले जित्यो भोजपुर मेयर गोल्डकप
गोलनेपाल

भोजपुर, वैशाख २१ – आठौं अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौंले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब ललितपुरलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफले उपाधि आफ्नो पक्षमा पार्‍यो।

एपिएफका लागि पहिलो गोल खेलको पहिलो हाफमा विशाल स्याङ्ताङले गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-० ले समाप्त भएपनि दोस्रो हाफमा एफएएफले आक्रामक खेल प्रस्तुत गर्दै तीन गोल थप्यो।

दोस्रो हाफमा समिराज थोकर, बिकी तामाङ र अनिस महर्जनले समान एक-एक गोल गरे। चर्च ब्वाइजलाई एकोहोरो दबाबमा राख्दै एफएएफले ४-० को स्पष्ट जित निकाल्दै उपाधि चुमेको हो।

खेलपछि विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो:

  • प्लेयर अफ द म्याच: मानबहादुर राना मगर ( एपिएफ)

  • बेस्ट गोलकिपर: सुजन बीके ( एपिएफ)

  • बेस्ट कोच: मिलन राई ( एपिएफ)

  • हाइ स्कोरर: समिराज थोकर ( एपिएफ)

  • म्यान अफ द सिरीज: पदम भट्टराई (चर्च ब्वाइज)

प्रतियोगिताको विजेता एफएएफ एफसीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता चर्च ब्वाइजले आकर्षक ट्रफीसहित नगद पुरस्कार प्राप्त गर्‍यो।

Post Comments