News धाइजन चारआलीलाई बाहुनडाँगी च्यालेञ्ज कपको उपाधि
रमेश समदर्शी

बाहुनडाँगी (झापा) । धाइजन चारआली एफसीले विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको उपाधि जितेको छ ।

स्थानीय सरस्वती माविको खेलमैदानमा आज भएको फाइनल खेलमा स्पर्धी इलामको रेडहर्ष एफसीलाई ३-१ गोलअन्तरले पराजित गर्दै धाइजन चारआलीले उपाधि चुमेको हो । धाइजन चारआलीका लागि आशिष चापागाईले ह्याट्रिक गरेका हुन् । यस्तै, इलामका लागि संगिन लिम्बूले सान्त्वना गोल गरे । खेलको सुरुवातदेखि नै धाइजन चारआलीले इलामलाई दबाबमा राखेको थियो ।

विजेता धाइजन चारआलीले १ लाख ११ हजार रुपैयाँ र उपविजेता रेडहर्ष एफसी इलामले ६१ हजार नगदसहित ट्रफी प्राप्त गरे । बाहुण्डाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा धाइजन-चारआलीका आशिष चापागाईले ५औँ, ४५औँ र इञ्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । रेडहर्षका लागि संगिन लिम्बूले एक गोल फर्काए पनि जितको लागि पर्याप्त भएन ।

खेलको प्लेयर अफ दी म्याच, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्ट धाइजन चारआलीका आशिष चापागाई घोषित भए । उनले नगद क्रमशः ५-५ र १५ हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको इमर्जिङ प्लेयर आयोजकका मनोज कार्की, बेष्ट कोच धाइजन चारआलीकाका पुर्ण सुब्बा, बेष्ट डिफेन्स धाइजनकै सञ्जय प्रधान घोषित हुँदै जनही नगद ५-५ हजार प्राप्त गरे । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर ४ रहेका थिए । प्रतियोगितामा भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा सहयोगी दाताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिव निरज राईले गरेका थिए ।

Post Comments