
बभनी । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल जारी स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ नवयुवाले राधाकृष्ण फुटबल क्लब, दल्कालाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । नवयुवाको जितमा कप्तान संगम सोमरेले एक गोल गर्दा अर्को गोल राधाकृष्ण कै सुरेन्द्र कंडेलले आत्मघाती गोलका रुपमा गरेका थिए ।
खेलमा पराजित हुनुका बावजुद राधाकृष्णका बिकास थापा म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन १ गते तराईमा होलीका कारण खेल नहुने आयोजकले जानकारी दियो । साथै फागुन २ गते दुई खेलहरु हुनेछन् । फागुन २ गते शनिबार २ बजे हुने पहिलो खेलमा समपुर्ण युवा क्लब र इलिट एकेडेमी भिड्ने छन् भने ३ बजे हुने दोस्रो खेलमा नव टिकुलीगढ युवा क्लब र बिग बुद्ध एफसी भिड्ने छन् ।
न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ९ गतेका दिन हुनेछ ।