
बिराटनगर । बिराट गोल्डकप आयोजक समिति, बिराटनगर, मोरङको आयोजनामा सोमबारदेखि शुरु भएको बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा रिजाल्को मोरङ एफएले विजयी शुरुवात गरेको छ ।
शहिद रंगशालामा भएको उद्घाटन खेलमा मोरङले साउदर्न सेमिटी, कोलकाता, भारतलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । मोरङको जितमा अभिषेक गुरुङ, दोर्जे तामाङ र मौसम लिम्बुले गोल गरे । पराजित साउदर्न सेमिटीका लागि सोनु र एनिमेस्टरले गोल गरेका थिए ।
खेलमा मोरङ एफएका मौसम लिम्बु म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै मोरङ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन २० गते मंगलबारको खेल सुदेवा दिल्ली एफसी, भारत र एपिएफ एफसी, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
यही फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।