News सुनगाभा सैनामैना गोल्डकप शुरु, आयोजक मुर्गियाको विजयी शुरुवात
गोलनेपाल

मुर्गिया । सोमबारदेखि शुरु सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

सैनामैना–४ स्थित सैनामैना फुटबल रंगशालामा भएको उद्घाटन खेलमा मुर्गियाले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

मुर्गियाको जितमा रोशन पहाडीले एक मात्र निर्णायक गोल गरे । मुर्गियाका निर्णायक गोलकर्ता रोशन पहाडी नै खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै मुर्गिया क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन २० गते मंगलबारको दोस्रो प्रिक्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र फर्साटिकर युवा क्लब, फर्साटिकरबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, आयोजक मुर्गिया एफसीका अध्यक्ष प्रबिन भारी लगायतले संयुक्त रुपमा गरेका थिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments