दियोबजार । सैनामैना कलेज अफ हस्पिटलिटी यहाँ जारी १६औं कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ सैनामैना कलेजले देशभक्त युवा क्लब, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । सैनामैना कलेजका लागि बलराम न्यौपानेले एक मात्र निर्णायक गोल गरे ।
निर्णायक गोलकर्ता न्यौपाने नै खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन १० गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक हिमालय एफसी, कञ्चन र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक संजय विश्वकर्माले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १४ गतेका दिन हुनेछ ।