News राईजिङ स्टार र लुम्बिनी एफए (सेतो) सेमिफाइनलमा
गोलनेपाल

घोराही । एकतर्फी जित निकाल्दै राईजिङ स्टार क्लब र रोमाञ्चक जितका साथ लुम्बिनी फुटबल एकेडेमी (सेतो) जारी लुम्बिनी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आयोजक कै खेलमैदानमा भएको दिनको पहिलो खेल तथा दोस्रो क्वाटरफाइनलतर्फ राईजिङ स्टारले लुम्बिनी एफए (निलो) लाई ७–० को फराकिलो अन्तरले हरायो । राईजिङ स्टारका लागि आशिष जिसीले ह्याट्रिक गरे भने मनिष पुन र बिरेन्द्र बिकले समान २–२ गोल गरे । ह्याट्रिक गरेका राईजिङ स्टारका आशिष जिसी खेलको म्यान अफ दि म्याच पनि चुनिए ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ आयोजक लुम्बिनी एफए (सेतो) ले पाण्डेश्वरी क्लबलाई २–१ ले हरायो । लुम्बिनी एफए (सेतो) का लागि रन्जित थापाले एक गोल गर्दा थप एक गोल भने पाण्डेश्वरका पदम क्षेत्रीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । त्यस्तै पराजित पाण्डेश्वरीका लागि भने मनिष तामाङले गोल गरेका थिए । खेलमा लुम्बिनी एफए (सेतो) का गोलरक्षक हिमाल नेपाली म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ३० गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बिएफएल र कांक्रेबिहार क्लब, सुर्खेत बीच हुने आयोजकले जानकारी दियो ।

लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

Post Comments