News अन्तरपालिका महिला फुटबलमा बिर्तामोडको गोलवर्षा
रमेश समदर्शी

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथमअन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामाभएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोलअन्तरको एकतर्फी जित निकालेको हो ।

एकोहोरो दबाब सिर्र्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो ।

बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन् । यसैगरी, १७ र १९औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी हुन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेर पहिलो खेलमै चार गोल गर्न सफल भइन् ।

यसैगरी, अन्स्रिनाले खेलको १५औँ मिनेटमा गोल गरेकी थिइन् । बिर्तामोडका लागि लीलाजोशी, हिमा रावत, रोशनी बोहोरा क्षेत्री र सुनकला राईजस्ता अनुभवी खेलाडी थिए ।

सुनकला प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए ।

भोलि (आइतबार) अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच खेल हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहितआकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments