
काठमाडौं । परिवारको साथ र फुटबलप्रतिको लगाव र मेहनतले नेपाली मूलका आर्नव थापा इङल्याण्डको पुरानो र चर्चित क्लब मध्ये एक अक्सफोर्ड युनाइटेड फुटबल क्लबमा आवद्ध भएका छन् ।
अक्सफोर्ड युनाइटेडमा आठ साता लामो कठिन र कडा ट्रायल पश्चात आर्नवले क्लबको यु–१३ टोलीमा दुई वर्षका लागि अनुवन्धसँगै स्थान बनाउन हुन सफल भएका हुन् । आर्नवले अक्सफोर्डमा आवद्ध हुनु अघि रिडिङ सिटी फुटबल क्लबको युथ टोलीबाट चार सिजन समेत खेले ।
वालिङ, स्याङ्जा पुख्र्यौली घर भई हाल इङल्याण्डको रिडिङ शहरमा परिवारसहित बसोबास गर्दै आएका आर्नवको परिवारिक पृष्ठभूमि पनि फुटबलमय छ । उनका दाजु अरहान्त पनि राम्रा खेलाडी थिए । तर, कलिलो उमेरमा दाजुको निधन भएपछि दाई कै सपना पुरा गर्दैछन् आर्नव ।
त्यसो त, आर्नवका पिता कुमार थापा मोफसलको चर्चित र परिचित सहारा क्लब, युकेका कोषाध्यक्ष समेत हुन् । अरहान्त कै स्मृतिमा उनको परिवारले हरेक वर्ष वालिङ युनाइटेड, स्याङ्जासँगको सहकार्यमा युथ फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ ।
आर्नवका काका गोपाल थापा नेपाल कै युथ लेभलबाट अन्तर्राष्ट्रिय फुटबलमा पनि सहभागि भईसकेका छन् । त्यसबाहेक गोपालले एपिएफ क्लबबाट नेपालको शिर्ष फुटबल पनि खेले ।
फुटबलमय माहोल कै कारण आर्नव पनि अहिले राम्रा बाल खेलाडीका रुपमा अगाडी बढिरहेका छन् । अक्सफोर्ड युनाइटेडमा युथ लेभलमा राम्रो गर्न सके उनले क्लबसँग थप व्यवसायिक सम्झौता गर्ने अवसर पनि छ । आर्नवका पिता कुमार भन्छन्, “यो शुरुवात मात्रै हो । उसले (आर्नव) ले मेहनत गर्दै गए अझै माथि जानेछ । यसमा हामी आशावादी पनि छौं ।”
स्मरण रहोस, सन् १८९३ मा स्थापित भई १३१ वर्षे पुरानो इतिहास बोकेको अक्सफोर्ड युनाइटेड हाल इङल्याण्डको दोस्रो डिभिजनको इङलिस फुटबल लिग (इएफएल) च्याम्पियनसिप खेल्दैछ । यो लिगबाट बढुवा हुन सके अक्सफोर्डले शिर्ष लिग इङलिस प्रिमियर लिग खेल्नेछ ।