
पॉचथरको सदरमुकाम फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा न्यू स्टार फुटबल क्लब सुनसरीलाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
फिदिम मा.वि.को खेल मैदानमा मंगलबार सम्पन्न दोस्रो क्वाटर फाइनलमा न्यू स्टारलाई ६-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल पुगेको हो । मच्छिन्द्रको जितका लागि बिजु भुजेलले दुइ,मनिष डॉगि,आदित्य शाक्य र सौरब सुव्वाले एक एक गोल गरे भने न्यू स्टारका सन्जय श्रेष्ठले एक आत्मघाति गोल गरेका थिए । न्यू स्टारका तर्फबाट सुसिल राई र सन्दिप श्रेष्ठ एक एक गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच मच्छिन्द्रका शनिस श्रेष्ठ घोषित हुँदै नगद दश हजार प्राप्त गरे । फाल्गुनन्द गोल्डकपको पॉचौ दिन पुस १० गते बुधबार तेस्रो क्वाटर फाइनलमा चर्च ब्वाइज काठमान्डौ र बिराटनगर सिटी मोरङ भिड्नेछन ।
पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ । दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।