
रामधुनी । एपिएफ क्लब, पकली जारी तेस्रो रामधुनी मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले साइनो स्र्पोटिङ क्लब, मोरङलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ एपिएफका लागि संजय सरदारले गोल गर्दा साइनको लागि दिल कुमार तामाङले गोल गरेका थिए ।
पेनाल्टी शुटआउटमा भने एपिएफले साइनोमाथि ३–२ को जित निकाल्दै सेमिफाइनल स्थान तय गर्यो । खेलमा एपिएफका गोलरक्षक सुजन बिक म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल मेघा स्र्पोटस एकेडेमी, बिराटनगर र न्यु स्टार क्लब, भरौलबीच हुने आयोजकले जानकारी दियो ।
उदियमान युवा क्लब, रामधुनी–९, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ सय हात पार्नेछ भने उपविजेताले ५० हजार १ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ६ गतेका दिन हुनेछ ।