
केराबारी । सोमबारदेखि शुरु भएको प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङले विजयी शुरुवात गरेको छ ।
सतिसाले स्र्पोटिङ खेलमैदानमा भएको उद्घाटन खेलमा सतिसालेले तालतलैया ब्वाईज फुटबल क्लब, तालतलैयालाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तले हरायो ।
सतिसालेको जितमा सुजन मगरले दुई गोल गरे भने मिजास लिम्बु, मिङसो लिम्बु र साजन बर्देवाले १–१ गोल गरे । खेलमा सतिसालेका मिङसो लिम्बु म्यान अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै सतिसाले सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष २ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल पञ्चायन एफसी, रामधुनी र मंगलबारे एफसी, उर्लाबारी बीच हुने आयोजकले जानकारी दियो ।
सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष ७ गतेका दिन हुनेछ ।