News माल्टाको पहिलो आधिकारिक नेपाली रेफ्री बने रोशनराज
गोलनेपाल

काठमाडौं । युरोपियन राष्ट्र माल्टालाई आफ्नो कर्मथलो बनाएका रोशनराज पन्त माल्टा फुटबल संघ (एमएफए) द्वारा आधिकारिक रुपमा मान्यता प्राप्त फुटबल रेफ्री बन्ने पहिलो नेपाली बनेका छन् ।

यो उपलब्धी पाएसँगै ३६ वर्षिय पन्तले अब माल्टामा हुने घरेलु लिग लगायत माल्टा एफए मातहत आयोजना हुने अन्य फुटबल प्रतियोगिताहरुमा पनि निर्णायकको भूमिका निर्वाह गर्न पाउने भएका छन् ।

नेपालमा रहँदा पन्त एक कुशल खेलाडीका रुपमा समेत परिचित थिए । जेभियर इन्टरनेशनल स्कुलबाट फुटबल करियर शुरु गरेका उनले सशस्त्र प्रहरीको एपिएफ क्लबबाट पनि खेल्न भ्याए । तर खेलाडी कै रुपमा उनी थप अगाडी बढ्न सकेनन् ।

केही समय फुटबलबाट विश्राम लिएका उनले फुटबललाई भने त्याग्न सकेनन् । फुटबल प्रशिक्षक कै रुपमा उनले कान्तिरोवा कलेजमा काम पनि गरे । त्यसैबेला उनको ध्यान फुटसलतर्फ पनि मोडियो । फुटसलमा जमेका पन्तले धेरै उपाधि र उपलब्धी पनि हासिल गरे ।

यद्यपि उनको मन घरेलु खेलकुद मै सिमित बन्न सकेन । सन् २०१८ तिर केही समय पोर्चुगल र जर्मनी बसेका पन्त फेरि नेपाल फर्किए अनि फुटसल प्रशिक्षकसँगै रेफ्रीको भूमिकामा सक्रिय बने । तर पनि उनको ध्यान विदेशतिरै मोडियो । वैदेशिक यात्रा कै क्रममा माल्टा पुगेका पन्त त्यहाँ आधिकारिक रुपमै रेफ्री बने ।

हाल पन्तले माल्टामा युथदेखि सिनियर लिग फुटबल प्रतियोगिताहरुमा रेफ्रीको भूमिका निर्वाह गरिरहेका छन् । पन्तका अनुसार फुटबलमा माल्टा कै जस्तो समर्थन र संरचना नेपालमा हुँदो हो त उनी जस्ता थुप्रै नेपाली खेलाडी तथा रेफ्रीहरुलाई विदेश पलायन हुनुपर्ने थिएन ।

Post Comments