
कोल्हुवा । शनिबारदेखि शुरु भएको सातौं राईनो गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा देशभक्त फुटबल क्लब, नवलपरासीले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा देशभक्तले हनामी बिएफसी, चितवनलाई पेनाल्टी शुटआउटमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ देशभक्तका लागि १९औं मिनटमा कप्तान चुडामणि चौधरीले गोल गरेका थिए भने बिएफसीका लागि पहिलो हाफ कै अतिरिक्त समयमा राज भुषालले गोल गरेका थिए ।
खेलमा एक समय देशभक्त दश खेलाडीमा समेत खुम्चिएको थियो । सुमित मल्लाहले रातो कार्ड खाँदै मैदान छाड्दा देशभक्त दश खेलाडीमा सिमित बनेको थियो । यद्यपि देशभक्तले खेललाई पेनाल्टी शुटआउटमा पुर्याउँदै नतिजा ५–४ ले आफ्नो पक्षमा पारेको थियो ।
खेलमा हारका बावजुद बिएफसीका राज भुषाल म्यान अफ दि म्याच घोषित भए । उता यो जितसँगै देशभक्त प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कार्तिक ४ गते आइतबारको खेल बिरगंज युनाइटेड, बिरगंज र कपिलवस्तु–११, कपिलवस्तु बीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु–२, कोल्हुवा, नवलपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १४ गतेका दिन हुनेछ ।