News रोलिङ च्यालेन्ज कपमा आयोजकको सानदार जित
रमेश समदर्शी

झापा । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा रोलिङले सुनसरीको एपिएफलाई ५-२ गोल अन्तरले हराउँदै सानदार जित निकाल्यो ।

जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, खेलको २५औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले थप गोल गरे ।

खेलको ५८औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा रोहन कार्कीले गोल गर्दै फराकिलो जित निश्चित गराए ।

एपिएफका लागि खेलको ३३औँ मिनेटमा समिर दर्जी कार्की र खेलको इन्ज्युरी समयमा कुमार राईले गोल फर्काए । खेलको प्लेयर अफ द म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण पोखरेल, खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद तथा ट्रफी प्रदान गरे ।

क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुभकामना व्यक्त गर्दै आगामी संस्करणमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अध्यक्ष नेम्वाङले स्वागत गर्दै औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए । भोलि हुने दोस्रो क्वार्टरफाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने क्लबका सचिव खड्काले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ ।

Post Comments