News बिर्तामोडलाई रोक्दै सिरहा ताप्लेजुङ गोल्डकपको फाइनलमा
रमेश समदर्शी

उपाधिको दाबेदार टोली बिर्तामोड युनाइटेड एफसी झापालाई रोक्दै सिराहाको सलहेश युवा क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा बिर्तामोडलाई ४-२ गोलअन्तरमा पराजित गरेर सिरहा फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटमा पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । खेलको १८औँ मिनेटमा सिरहाका लागि जोन ग्लोरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, आफ्नै टोलीका सदस्य सेवेले आत्मघाती गोलको उपहार दिएपछि झापा बराबरीमा आएको थियो । खेलको ५६औँ मिनेटमा सेवेले आफ्नै पेनाल्टी एरियामा हेड फ्लिक गर्दा झापा खेलमा फर्किएको थियो । १०५ मिनेटमा पनि खेलको निर्णय हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको हो ।

टाइब्रेकरमा बिर्तामोडका निमा तामाङको प्रहार सिरहाका गोलरक्षक प्रदिप भण्डारीले रोकेका थिए भने सौरभ लिम्बूको प्रहार गोलपोस्टमा लाग्दै भित्रियो । हिसुब थपलिया र रोहन कार्कीको प्रहारमात्र गोलमा परिणत भएको थियो । यसैगरी, सिरहाका श्रृजन क्षेत्रीको प्रहार आकासिँदा प्रवेश दनुवार, जय गुरुङ, सन्तोष खत्री र आदित्य शाक्यको प्रहार गोलमा परिणत भयो । खेलको म्यान अफ दी म्याच गोलरक्षक प्रदिप भण्डारी भए । उनले नगद ५ हजार पाए ।

यो सँगै फाइनलका लागि सिराहाले मोरङको सगरमाथा युथ क्लबसँग भेट पक्का गरेको छ । पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोलले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । भदौ १० गते हुने फाइनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Post Comments